अरनिको राजमार्गको धुलिखेल–सूर्यविनायक सडकखण्ड निर्माणका कारण बन्द हुँदा प्रयोग हुँदै आएको वैकल्पिक मार्ग पनि अहिले अवरुद्ध भएको छ। काभ्रेको बनेपा–नाला–भक्तपुर सडकखण्ड अन्तर्गत रहेको पुण्यमाता खोलाको पुल भाँचिएपछि यस सडकमार्गमा पूर्णरूपमा सवारी आवागमन ठप्प भएको हो।
बनेपा नगरपालिका–१ र ४ को सिमानामा पर्ने उक्त पुल रातिको समयमा भाँचिएको ट्राफिक कार्यालय काभ्रेका प्रमुख सुनील ध्वाजु ले जानकारी दिनुभयो। पुल भाँचिएपछि यात्रुहरू र स्थानीय बासिन्दालाई आवतजावतमा गम्भीर समस्या भएको छ भने सवारी साधनहरू अर्को वैकल्पिक बाटो खोज्न बाध्य भएका छन्।
धुलिखेल–सूर्यविनायक सडक खण्ड निर्माणकै कारण पहिल्यैदेखि प्रमुख मार्ग बन्द रहेकोमा अहिले वैकल्पिक बाटोसमेत अवरुद्ध भएपछि सम्पूर्ण यातायात व्यवस्था प्रभावित भएको छ। तत्काल मर्मत नहुँदा यात्रु र स्थानीयवासीहरू थप सास्तीमा परेका छन्।
