धरान उपमहानगरपालिकामा श्रमदान योजनाको भुक्तानी विषयले नेतृत्व तहमा गम्भीर विवाद चुलिएको छ। नगरप्रमुख हर्क साम्पाङ र प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईँबीचको मतभेदले अब स्पष्टीकरण पत्र आदानप्रदानको तहसम्म पुगेको छ।
असार २ गते धरान–१६ मा सर्दुखोलामा बाढी नियन्त्रणका लागि लगाइएको तारजालीसम्बन्धी योजनाको भुक्तानी अहिलेसम्म रोकिएको छ। प्रारम्भमा श्रमदान भनिए पनि केही सीमित व्यक्तिहरूको मात्र उपस्थिति देखाएर रकम भुक्तानी मागिएको भन्दै विवाद सुरु भएको हो। नगरप्रमुख साम्पाङले यो योजना सम्झौताबमोजिम सम्पन्न भइसकेको, सार्वजनिक परीक्षणसमेत भइसकेको र आवश्यक प्रक्रिया पूरा गरिसकिएको अवस्थामा भुक्तानी रोकिनु अनुचित भएको बताएका छन्।
उक्त योजनासम्बन्धी विवादकै कारण धरान उपमहानगरले आगामी आर्थिक वर्षको बजेटसमेत प्रस्तुत गर्न सकेको छैन। मेयर साम्पाङ, उपमेयर आइन्द्रविक्रम बेघा र प्रशासकीय अधिकृत चौलागाईँबीचको टकरावका कारण नगरको समग्र प्रशासनिक कामकाज प्रभावित हुँदै गएको देखिन्छ।

