नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा चलाइएको हस्ताक्षर संकलन अभियानप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले बालबालिकालाई बिस्कुट र खाजा दिएर हस्ताक्षर अभियानमा सहभागी गराइएको घटनालाई बालअधिकारको गम्भीर उल्लङ्घन भनेका छन्। उनले यस प्रकारको क्रियाकलाप समाजमा गलत सन्देश फैलाउने र बालबालिकाको हकको अपमान गर्ने कार्य भएको जिकिर गरेका छन्।
बस्नेतले लेखेका छन्, “बालबालिकालाई प्रयोग गरी युट्युबरहरू बोलाएर समर्थन जुटाउने काम आपत्तिजनक छ। अझ दुःखको कुरा, यही कार्यमा संलग्न व्यक्तिहरू आफूलाई सुधारक भन्न लाज मान्दैनन्।”
सहकारी प्रकरणमा लामिछानेमाथि गम्भीर आरोप लागिरहेका सन्दर्भमा बस्नेतले बालबालिकालाई ओढेर कानुनबाट उन्मुक्ति खोज्ने प्रयास गम्भीर अपराध सरह भएको टिप्पणी गरेका छन्। साथै, कानुनी शासन र बालअधिकारको संरक्षणमा कुनै सम्झौता हुन नहुने धारणा पनि उनले व्यक्त गरेका छन्।
