काठमाडौं महानगरपालिकाले यस वर्षको एसईई परीक्षामा नन्ग्रेडेड विद्यार्थीको संख्या उच्च रहेको भन्दै सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूलाई त्यसको कारण खोज्न आग्रह गरेको छ।
कामपाका उपप्रमुख सुनिता डंगोलले विगत तीन वर्षदेखि अपेक्षित नतिजा नआएका, र हाल ५० प्रतिशतभन्दा बढी विद्यार्थी नन्ग्रेडेड रहेका सामुदायिक विद्यालयका प्रमुखहरूसँग छलफल गर्दै यस्तो धारणा राखेकी हुन्।
उनले भनिन्, “साझेदार एकै ठाउँमा बसेर एउटै दृष्टिकोणले काम गर्यो भने समस्या समाधान गर्न सकिन्छ। आगामी एक महिना नन्ग्रेडेड विद्यार्थीलाई पठन–पाठनमा केन्द्रीत गरौँ, त्यसपछि थप योजना तय गरौं।”
कार्यक्रममा कामपाका शिक्षा अधिकृत केशव ज्ञवालीले कमजोर नतिजाको पछाडि शिक्षक–विद्यार्थी र अभिभावक–विद्यालयबीचको सम्बन्ध कमजोर हुनु, विद्यार्थीको घरायसी वातावरण र श्रममा संलग्नता जस्ता कारणहरू रहेको बताए।
प्रधानाध्यापकहरूले पनि विद्यार्थीलाई प्रोत्साहन गर्ने, अतिरिक्त कक्षा सञ्चालन गर्ने, र अध्ययनमा सुधार ल्याउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले नतिजा कमजोर हुनुमा विद्यालय, विद्यार्थी र अभिभावक सबैको भूमिका रहेको स्वीकार गरे।
विसं २०८१ को एसईईमा कामपाका ५८ वटा सामुदायिक विद्यालयबाट ४ हजार ५६ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ९५६ जना विद्यार्थीले नन्ग्रेडेड नतिजा ल्याएको हुँदा पुनः परीक्षा दिनुपर्नेछ।
यसपटक ७८९ जनाले ३.६१ देखि ४.० जीपीए ल्याएका छन्, जसमध्ये १७ जनाले पूर्ण ४ जीपीए प्राप्त गरेका छन्। अघिल्लो वर्षको तुलनामा उच्च जीपीए ल्याउने विद्यार्थीको संख्या २४४ जना बढेको छ।
