झापाको शिवसताक्षी नगरपालिका–९ स्थित संगम चोकमा दुई जना किशोरको मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ। कुटपिटबाट ज्यान गएको आशंकामा प्रहरीले ६ जना नाबालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
प्रहरी निरीक्षक प्रविण श्रेष्ठका अनुसार असार ११ गते साँझ करिब ६:४० बजे संगम चोकमा दुई किशोरमाथि कुटपिट भएको थियो। तीमध्ये १५ वर्षीय आदित्य तामाङ र १९ वर्षीय रोमन थापा घाइते भएका थिए।
घाइते आदित्यलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको थियो भने रोमनलाई भने तत्काल अस्पताल नपुर्याई असार १४ गते बिहानमात्र बिर्तामोड अस्पताल लगिएको थियो। सोही दिन बिहान साढे १० बजे रोमनको मृत्यु भएको प्रहरी स्रोतको भनाइ छ।
“मृत्युपछि दाहसंस्कारका लागि घर लगिएको थियो,” निरीक्षक श्रेष्ठले भने, “तर त्यसपछि घटनाबारे जानकारी पाउँदा मृत्यु कुटपिटबाट भएको हुन सक्ने आशंकामा शव पोष्टमार्टमका लागि धरानस्थित घोपा अस्पताल लगिएको हो।”
उता, आदित्यको पनि सोही दिन दिउँसो पौने २ बजे उपचारकै क्रममा बीएण्डसी अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ।
मृतक आदित्य कक्षा ८ मा र रोमन कक्षा १० मा अध्ययनरत थिए। परिवारजनका अनुसार उनीहरूबीच विगतदेखि केही व्यक्तिगत रिसइबी रहेको आशंका गरिएको छ।
आदित्यका परिवारले असार १६ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा औपचारिक उजुरी दिएपछि प्रहरीले अनुसन्धानको दायरा बढाएको हो।
प्रहरीले घटनाका सबै पक्षमाथि अनुसन्धान भइरहेको जनाउँदै, वास्तविक कारण पत्ता लगाउन आवश्यक प्रमाण संकलन कार्य अगाडि बढाइरहेको जनाएको छ।
