राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं. ३ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि आवश्यक तयारी अघि बढाएको छ।
पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार बिहीबार धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया प्रारम्भ गर्न निर्देशन दिने निर्णय गरेको हो।
जिल्ला कार्यसमितिलाई सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरी असार मसान्तभित्र केन्द्रीय कार्यालयमा पठाउन भनिएको उनले जानकारी दिए।
उपनिर्वाचन तयारीलाई अझ व्यवस्थित, प्रभावकारी र लक्ष्यमुखी बनाउन वरिष्ठ उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा विशेष उपनिर्वाचन परिचालन समिति गठन गरिएको छ।
यस समितिमा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, सहायक महामन्त्री ताहिर अली, रुपन्देही प्रतिनिधित्व गर्ने कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिका सदस्यहरू तथा आमन्त्रित सदस्यहरू रहनेछन्।
उक्त उपनिर्वाचन राप्रपाका सांसद दीपक बोहराको निधनपछि रिक्त भएको सिटमा हुने हो। राप्रपाले निर्वाचनलाई गम्भीर रूपमा लिँदै समयमै तयारी सुरु गरेको जनाइएको छ।
