राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा कात्तिक १७ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया तय गर्न आगामी आइतबार बैठक बोलाउने भएको छ। बिहीबार पार्टीको सचिवालय बैठक पार्टी कार्यालय वनस्थलीमा बसेको थियो, जसमा योग्य उम्मेदवार छनोट गर्ने प्रस्तावित विधिमाथि छलफल भएको हो।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बैठकमा उम्मेदवार छनोटका लागि केही प्रस्तावहरू प्राप्त भइसकेका छन् भने केही आउन बाँकी छन्। उनले उम्मेदवार छनोटका लागि विधि निर्माण गर्ने र त्यसैअनुसार प्रक्रिया अघि बढाउने निर्णय गरिएको जानकारी दिए।
“व्यक्तिमा प्रवेश गरिएको छैन,” बुर्लाकोटीले स्पष्ट पारे, “तर योग्य उम्मेदवार चयनका लागि प्राइमरी इलेक्सन अनिवार्य रहने गरी विधि प्रस्ताव गरिएको छ। स्थानीय सदस्यहरूको समेत सक्रिय सहभागिता रहनेछ।”
उनका अनुसार, आइतबारको बैठकले विधिमाथि अन्तिम निर्णय गर्नेछ। उम्मेदवारको नाममा हाल कुनै निश्चितता गरिएको छैन, तर सागर ढकाल, कुलमान घिसिङ जस्ता व्यक्तिहरूको सम्भावना सार्वजनिक चर्चा भए पनि पार्टीले अहिलेसम्म कसैको नाममा औपचारिक छलफल नगरेको स्पष्ट गरिएको छ।
पार्टीले लोकतान्त्रिक र समावेशी प्रक्रिया अपनाउँदै स्थानीय तहबाटै योग्य उम्मेदवार छनोट गर्न चाहेको संकेत दिएको छ।
