सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)ले प्रतिनिधिसभामा गरेका टिप्पणीप्रति नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा असन्तोष व्यक्त गरिएको छ। तामाङले बजेटमाथिको छलफलका क्रममा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहप्रति असन्तोष जनाउँदै, आगामी कार्यकालमा उनलाई संसद्मा नदेखिने प्रार्थना गरेका थिए।
उनको यही अभिव्यक्तिले पार्टीभित्र आलोचना निम्त्याएको हो। बुधबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य तथा सांसद ईश्वरी न्यौपानेले बिना नाम उल्लेख गर्दै यस विषयमा गम्भीर प्रश्न उठाइन्।
उनले भनिन्, “हामी पार्टीका सांसद हौं कि स्वतन्त्र? संसद्मा सहरी विकासमन्त्री र अर्थमन्त्री अब नदेखिऊन् भन्ने टिप्पणी हाम्रो अनुशासन र मर्यादासँग मेल खान्छ?”
न्यौपानेले कांग्रेसभित्रैबाट कांग्रेस नेताहरूलाई सार्वजनिक स्थानमा गाली गरिएकोप्रति पनि आपत्ति जनाइन्। “गल्ती नगरेकालाई चिया पसलमा बसेर गाली गर्नु कहाँको राजनीति हो? गल्ती गरेका छन् भने आलोचना जायज छ, तर आधारविहीन आरोप हान्नुले पार्टीको छवि धुमिल हुन्छ,” उनले भनिन्।
साथै, पार्टीको भ्रातृसंस्थाहरूमा म्याद थपको अभ्यास बन्द गरी नियमित अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने माग पनि उनले बैठकमा राखिन्। उनले युवापुस्तालाई पार्टीप्रति आकर्षित गर्न नयाँ पुस्तालाई नेतृत्वको अवसर दिनु आवश्यक रहेको तर्क गरिन्।
अन्त्यमा, उनले शीर्ष नेताहरूलाई आपसी आरोपप्रत्यारोपको वातावरण अन्त्य गर्दै पार्टीभित्र ऐक्यबद्धता कायम गर्न आग्रह गरिन्।
