सुनसरीको दुहबी नगरपालिका–१२ मा रहेको श्री एकता ज्ञान मैथिली आधारभूत विद्यालयमा अयोग्य उम्मेदवारलाई नियुक्त गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीमा उजुरी परेको छ। उजुरीमा विद्यालय व्यवस्थापन समितिका एक सदस्यले आफ्नी श्रीमतीलाई योग्यता नपुगेको अवस्थामा पनि विद्यालय सहयोगी पदमा नियुक्त गराएको आरोप लगाइएको छ।
उक्त विद्यालयमा भएको नियुक्ति प्रक्रियालाई लिएर प्रतिस्पर्धी उम्मेदवारहरूले त्यसलाई खारेज गर्न माग गर्दै उजुरी दिएका हुन्। समितिका सदस्य रविन यादवकी श्रीमती दुर्गा यादव एसएलसी अनुत्तीर्ण भए पनि अन्य योग्य उम्मेदवारलाई पछि पारेर नियुक्त भएको दाबी गरिएको छ।
विद्यालयले जेठ २२ गते जारी गरेको सूचनामा कक्षा १० उत्तीर्ण हुनु अनिवार्य योग्यता रहेको उल्लेख थियो। तर, असार १४ गतेको लिखित तथा अन्तरवार्ता प्रक्रियामा कक्षा १२ उत्तीर्ण उम्मेदवारहरू प्रीति राजवंशी, राधिका यादव, किरण यादव र भागेश्वर यादव सहभागी भए पनि, दुर्गा यादवलाई नियुक्त गरिएको पीडितको भनाइ छ।
परीक्षा सुरु हुनुअघि नै प्रश्नपत्र लिक भएको र दुर्गालाई पार गराउने गरी योजना बनाइएको आरोप पनि लगाइएको छ। उजुरीकर्ताका अनुसार दुर्गाले पेश गरेको ‘टेस्ट परीक्षा’ पासको प्रमाणपत्र अमान्य हो, किनकि राष्ट्रिय परीक्षा बोर्डले उक्त प्रणाली वर्षौंअघि नै खारेज गरिसकेको छ।
एक प्रतिस्पर्धी उम्मेदवारले अमान्य प्रमाणपत्रका आधारमा नियुक्ति पाउनु गम्भीर अपराध भएको भन्दै यथाशीघ्र छानबिन हुनुपर्ने माग गरेका छन्।
यस सम्बन्धमा विद्यालयकी प्रधानाध्यापक उर्मिला कुमारी यादवले आफूहरूले नगरपालिका निर्देशनअनुसार प्रक्रिया पूरा गरेको बताएकी छन्। उता, दुहबी नगरपालिकाका शिक्षा शाखा प्रमुख सन्तोष तिम्सिनाले परीक्षा निष्पक्ष भएको दाबी गरे पनि ‘टेस्ट परीक्षा’ को वैधता विषयमा स्पष्ट जवाफ दिन सकेनन्।
कक्षा ४ सम्म पढाइ हुने र करिब १०० विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा सहयोगीले शिक्षणको कामसमेत गर्नुपर्ने हुन्छ। यसरी अयोग्य र शैक्षिक मापदण्ड नपुगेको व्यक्तिलाई नियुक्त गर्नुले विद्यार्थीहरूको भविष्यमा प्रतिकूल असर पार्ने भन्दै अभिभावकहरूले चासो व्यक्त गरेका छन्।
स्थानीयले तत्काल नियुक्ति खारेज गरी योग्य उम्मेदवारलाई रोज्न माग गरेका छन्। असार १७ गते दर्ता गरिएको उजुरीमाथि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।
