बैंकिङ कसूरसम्बन्धी मुद्दामा दोषी ठहर भई फरार रहेका एक युवकलाई प्रहरीले नागार्जुनबाट पक्राउ गरेको छ।
काठमाडौँको नागार्जुन नगरपालिका–१० स्युचाटरमा बसोबास गर्दै आएका सिन्धुली दुधौली नगरपालिका–३ स्थायी निवासी ३० वर्षीय विक्रम चौहानलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो।
उच्च अदालत पाटनले २०८० जेठ २ गते चौहानलाई दुई वर्ष कैद, ६ लाख १० हजार रुपैयाँ जरिवाना र २० हजार ४ सय रुपैयाँ पीडित राहत कोषमा बुझाउने सजाय सुनाएको थियो।
सजाय सुनाइएपछि फरार रहेका चौहानलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनलाई अब फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको प्रहरीले जनाएको छ।
