प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई दक्षिण एसियामै लगानीका लागि अनुकूल मुलुकमध्ये एकका रूपमा उल्लेख गरेका छन्।
स्पेनका लागि नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको नेपाल–स्पेन व्यवसायी तथा लगानीकर्तासँगको छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गरे।
उनले राजनीतिक स्थायित्व, खुला बजार नीतिहरू, दक्ष र प्रतिस्पर्धी श्रम शक्ति, तथा लगानी संरक्षणसम्बन्धी विधेयकहरूले नेपाललाई अन्तर्राष्ट्रिय लगानीको लागि उपयुक्त गन्तव्य बनाएको उल्लेख गरे।
प्रधानमन्त्री ओलीका अनुसार नेपाल समावेशी आर्थिक रूपान्तरणमा केन्द्रित छ, जहाँ निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख आधारका रूपमा स्वीकार गरिएको छ।
उनले कानुनी, संस्थागत र प्रक्रियागत सुधारलाई अझ प्रभावकारी बनाउँदै लगानी मैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।
सो अवसरमा स्पेनका लागि नेपालका राजदूत सनिल नेपालले प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डललाई स्वागत गर्दै यो भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री ओली यही शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

