राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुक व्यापक भ्रष्टाचारमा फसेको भन्दै त्यसको अन्त्यका लागि राजसंस्थाको आवश्यकता रहेको बताएका छन्।
बुधबार राजधानीमा पार्टीको नीति तथा अनुसन्धान विभागद्वारा आयोजित अन्तरक्रियामा बोल्दै थापाले मुलुक अभिभावकविहीन बनेको टिप्पणी गरे। यस्तै अवस्थाका कारण विदेशी हस्तक्षेप र चलखेल बढिरहेको समेत उनले बताए।
उनको भनाइमा, “कसैको डर नभएको अवस्थामा राष्ट्रघाती कार्यहरू समेत खुलेआम भइरहेको देखिन्छ।”
धर्म निरपेक्षताको नाममा धर्मान्तरण तीव्र गतिमा भइरहेको भन्दै थापाले चिन्ता व्यक्त गरे। यस्तो चुनौतीपूर्ण परिवेशमा राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र स्वाधीनताको रक्षाका लागि राजसंस्था अपरिहार्य भएको उनको भनाइ थियो।
थापाले स्पष्ट रूपमा भने, “राजसंस्था हाम्रो विचार, विश्वास र आस्थाको प्रतीक हो, जुन राष्ट्रिय अस्तित्वको सुरक्षा सुनिश्चित गर्न आवश्यक छ।”
कार्यक्रममा राप्रपाका अन्य नेताहरू डा. विष्णु भण्डारी, केशवराज श्रेष्ठ, अञ्जना शाह रावल र जिवछ मिश्रले पनि आफ्ना धारणा राखेका थिए।
