राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही बिहीबार बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीका अनुसार बैठक राप्रपाको केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा आगामी कात्तिक १७ गतेका लागि तय भएको प्रतिनिधिसभा उपनिर्वाचनमा रुपन्देही–३ क्षेत्रका लागि उम्मेदवार चयनबारे गहिरो छलफल हुने जानकारी उनले दिए। शाहीले उम्मेदवार छान्दा नेताको व्यक्तिगत निर्णय होइन, जनताको चाहनालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्।
उनले भने, “अब उम्मेदवार नेताको खल्तीबाट होइन, जनताको मनबाट तय हुनु पर्छ। खल्तीबाट आएका उम्मेदवारलाई जनताले विश्वास गर्ने समय सकिएको छ।”
बुधबार मात्रै रुपन्देहीका राप्रपा नेताहरूले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको निवासमा समेत उम्मेदवार चयनसम्बन्धी छलफल गरेका थिए।
गौरतलब छ, यसअघि रुपन्देही–३ बाट राप्रपाका दीपक बोहराले प्रतिनिधित्व गरेका थिए। उनको असमयिक निधनपछि उक्त क्षेत्र रिक्त रहँदै उपनिर्वाचनको तयारी भएको हो।
