ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा क्षेत्रमा कार्य अगाडि बढाएको बताएका छन्।
बुधबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले ऊर्जा क्षेत्रलाई राष्ट्रिय विकासको मेरुदण्डका रूपमा प्रस्तुत गरे। उनले सोही लक्ष्यलाई मध्यनजर गर्दै बजेटमा ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए।
उनले विभिन्न भोल्टेज स्तरका गरी १७ हजार ४४६ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण गरिने र सबस्टेसनको क्षमता ४० हजार एमभिएसम्म पुर्याउने योजना रहेको बताए।
कर्णाली, माथिल्लो कर्णाली, भेरी, जगदुल्ला जस्ता आयोजनाहरूमा लगानी परिचालन र निर्माण कार्य अघि बढाउन सरकारले नीति तथा कार्यक्रममार्फत प्रतिबद्धता जनाइसकेको पनि उनले उल्लेख गरे। खासगरी, जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया अघि बढेको र बोलपत्र मूल्याङ्कनपछिको सूचनासमेत सार्वजनिक भइसकेको जानकारी दिए। बूढीगण्डकी आयोजना सार्वजनिक–निजी साझेदारी मोडलमा अघि बढाइने उनले स्पष्ट पारे।
मन्त्री खड्काले वर्षायाममा विद्युत् उत्पादन वृद्धि हुँदा प्रसारण लाइनमा थप भार पर्न गई कहिलेकाहीँ लाइन अवरुद्ध हुने अवस्थाहरू देखिएको पनि बताए।

