रक्षा मन्त्री मानवीर राईले नेपाली सेनासहितका सबै सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्न सरकार सक्रिय रुपमा काम गरिरहेको बताएका छन्। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ सम्बन्धमा राखिएका प्रश्नहरूको जवाफ दिदै उनले सुरक्षाकर्मी र कर्मचारीको सेवा सुविधामा वृद्धि गर्न पर्याप्त आर्थिक स्रोतको व्यवस्था आवश्यक रहेको उल्लेख गरे।
अर्थतन्त्र सुधार र विस्तार भएसँगै राज्यका सबै क्षेत्रमा सेवा सुविधा वृद्धिमा कुनै कञ्जुस्याइँ नगरिने उनले बताए। मन्त्री राईले अर्थमन्त्रीले मुलुकको अर्थतन्त्र सुधारात्मक दिशामा अघि बढेको स्पष्ट गरेपछि सरकारले यस विषयमा सकारात्मक योजना बनाउँदै लागेको जानकारी पनि दिएका छन्।
उनले राष्ट्रिय सेवा दल (एनसीसी) कार्यक्रमलाई क्रमशः विस्तार गर्ने योजना रहेको जानकारी गराउँदै आगामी आवमा तराई मधेस र सीमावर्ती केही जिल्लामा यो कार्यक्रम थप अघि बढाइने बताए।
एनसीसी कार्यक्रमले अनुशासन, नेतृत्व गुणस्तर, खेलकुद भावना विकास गर्दै युवाहरूमा निःस्वार्थ सेवा भावना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ। कार्यक्रम सैनिक व्यवस्थापनमा संचालन हुँदैछ र कक्षा ८ देखि १२ सम्मका विद्यार्थी सहभागी हुने जनाइएको छ।
आगामी आवको बजेटमा राष्ट्रिय सेवा दलको दायरा विस्तार र यसको प्रभावकारिता बढाउने विषय समावेश गरिएको छ। साथै सेनाले उत्पादनमूलक क्षेत्रमा सक्रिय भई मुलुकलाई आत्मनिर्भर बनाउन सहयोग पुर्याउने सरकारको लक्ष्य रहेको पनि रक्षा मन्त्री राईले बताएका छन्।
