राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेशको सफलताले नै मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने उल्लेख गरेका छन्। बुधबार शीतल निवासमा सातवटै प्रदेशका प्रदेश प्रमुखहरूसँगको भेटघाटका क्रममा उनले पछिल्ला जनआन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्ने महत्वपूर्ण माध्यम प्रदेश सरकारहरू भएको बताए।
राष्ट्रपति पौडेलले प्रत्येक प्रदेशले आफ्ना आन्तरिक स्रोतको अधिकतम उपयोग गर्दै विकासका नयाँ दृष्टिकोण तयार पार्नुपर्नेमा जोड दिए। उनले प्रदेश सरकारले आफ्नो मौलिकता कायम राख्दै सुशासन, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, साहित्य, कला र संस्कृतिजस्ता क्षेत्रमा प्रगति गर्न सुझाव दिनुपर्ने औंल्याए।
उनले यस किसिमका क्षेत्रीय प्रयासहरूबाट सम्पर्क र सम्बन्ध विस्तार गर्दै समृद्धि र समावेशिताको बाटो अघि बढ्न सकिने उल्लेख गरे।
राष्ट्रपतिले सबै पक्ष एकजुट भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउने दिशामा लाग्नुपर्नेमा विशेष जोड दिएका थिए।
सो अवसरमा उपस्थित प्रदेश प्रमुखहरूले आफ्नो कार्यकालमा देखिएका कानुनी अन्योल, व्यवस्थापकीय चुनौती र विभिन्न कठिनाइहरूबारे जानकारी गराउँदै राष्ट्रपति समक्ष सम्बद्ध निकायहरूको ध्यानाकर्षण गराइदिन अनुरोध गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

