नेकपा एमालेका सांसद एकनाथ ढकालले नेपालको पर्यटन नीति धार्मिक पर्यटकलाई केन्द्रमा राखेर अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
बुधवार बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले हाल देखिएको चुनौतीको समाधान गर्दै पर्यटन प्रवर्द्धनका नयाँ उपायहरू अपनाउनु पर्ने धारणा राखे।
सांसद ढकालले विशेषतः बौद्ध धर्मावलम्बी पर्यटकहरूका लागि अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै काउन्टरको व्यवस्था गरी ‘फास्ट ट्रयाक’ सुविधा दिन सकिने प्रस्ताव राखे। उनले पर्यटकहरू भित्रिने प्रवेशद्वारमै स्वागतपूर्ण र सहज वातावरण निर्माण गर्नुपर्ने बताए।
‘गौतम बुद्ध जन्मेको देश भनेर हामी बारम्बार भन्न्छौं, तर विमानस्थलमा त्यो अनुभूति गराउने व्यवस्था हुन सकेको छैन,’ उनले भने, ‘धेरै बौद्धमार्गी देशहरूमा धार्मिक पर्यटकहरूलाई विशेष सम्मानका साथ फास्ट ट्रयाक सेवा दिइन्छ, नेपालले पनि त्यसतर्फ ध्यान दिनुपर्छ।’
उनले भारत र चीनसँग नेपालको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई पनि पर्यटन प्रवर्द्धनको माध्यम बनाउनु पर्नेमा जोड दिए।
ढकालले धार्मिक आस्थाका आधारमा नेपाल आउने पर्यटकहरूको संख्या उल्लेखनीय रहेको भन्दै पर्यटनमैत्री वातावरण सिर्जनाका लागि सरकारले तत्काल पहल गर्नुपर्ने धारणा राखे।
