संघीय निजामती सेवा विधेयकमा भएको ‘कुलिङ पिरियड’ सम्बन्धी संशोधनलाई नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले गम्भीर षड्यन्त्रको रूपमा ब्याख्या गरेका छन्।
बुधवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले उक्त विषयमा लामो छलफलपश्चात सहमति जुटाइएको भए पनि अन्तिम प्रतिवेदनमा त्यो प्रावधान नसमेटिनु सामान्य गल्ती नभइ योजनाबद्ध षड्यन्त्र भएको आरोप लगाए।
उनले समितिका सचिवदेखि सभापतिसम्म सबैको भूमिकामाथि छानबिन आवश्यक रहेको उल्लेख गर्दै, अब समितिभित्रै होइन, प्रतिनिधि सभाबाटै उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने धारणा राखे।
पाण्डेले कुलिङ पिरियड दुई वर्ष नै कायम राख्नुपर्नेमा जोड दिँदै संसदबाट पारित विधेयकमा त्रुटि सच्याउन समितिले तत्काल पहल गर्नुपर्ने बताए।
‘राष्ट्रिय सभामा विधेयक पुगेको छ, त्यसअघि नै हामीले स्पष्ट सन्देशसहित त्यसलाई सुधार गर्नुपर्नेछ,’ उनले भने।
सभापतिको राजीनामासम्बन्धी कुरा व्यक्तिगत निर्णयको विषय भएको उनले बताए। ‘नैतिकताको विषय मागेर होइन, व्यक्तिले आफैं प्रदर्शन गर्ने हो,’ भन्दै उनले भने, ‘कुलिङ पिरियडको सबैभन्दा धेरै वकालत गर्ने व्यक्ति नै अहिले हस्ताक्षरकर्ताको सूचीमा छन्।’
पाण्डेले विधेयकमा देखिएको विसंगतिबाट जनविश्वास खण्डित हुने खतरा रहेको भन्दै तत्काल सुधारको खाँचो औंल्याए।
