संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी दफामा सहमतिविपरीत हेरफेर भएको भन्दै सांसदहरूले कडा आपत्ति जनाएका छन्।
बुधवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले कर्मचारीप्रति विश्वास गरेर विधेयक तयार गराइएको तर सोही विश्वासमाथि घात भएको गुनासो गरिन्।
‘तीनजना मन्त्रीको सहमतिपछि सर्वसम्मत निर्णय भएको थियो। त्यो निर्णय विपरीत विधेयकको दफा फेरियो। विश्वास गरेर लेख्न दिँदा कर्मचारीहरूले उल्टै खेल गरे,’ सांसद प्रसाईंले भनिन्, ‘यो साधारण त्रुटि होइन, संसदमाथिको गम्भीर अपराध हो।’
उनले यो प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै सभापति रामहरि खतिवडासमेत जिम्मेवार ठहरिने धारणा राखिन्।
त्यस्तै अर्की सांसद ईश्वरीदेवी न्यौपानेले स्थायी सरकारको विधेयक निर्माणका लागि आफूहरू रातदिन लागिरहेका बेला यस्तो जालसाजी हुनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको बताइन्।
‘कुलिङ पिरियडमा भएको चलखेलले लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र हो?’ भन्दै उनले प्रश्न उठाइन्। उनले यस घटनाले सांसदहरूलाई अनावश्यक आरोपको सिकार बनाएको उल्लेख गरिन्।
न्यौपानेले उच्चपदस्थ कर्मचारीहरूले दफा हटाउन प्रभाव जमाउन खोजेको संकेत गर्दै विश्वास तोडिएकोमा गम्भीर असन्तुष्टि जनाइन्।
‘सभापति र सचिवले हस्ताक्षर गरेर पठाएको विधेयकमा मैले पढिन भनेर बाहिर भन्न मिल्दैन’, उनले भनिन्, ‘छलफलमा भएको कुरा एकथरी लेखिने र कार्यान्वयन अर्कै हुने ? यस्तो धोका स्वीकार्य छैन।’
बैठकमा अन्य सांसदहरूले पनि विधेयकमा भएको हेरफेरबारे गहिरो छानबिन गर्न जोड दिएका छन्।
