रूकुम पूर्वको सिस्ने गाउँपालिकामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार बिहान ११ बजे सिस्ने–५ धौलापहिरास्थित मध्य पहाडी लोकमार्गमा दुर्घटना भएको हो।
रा ७ प १२६२ नम्बरको मोटरसाइकल र बा २९ प ४४२७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा रा ७ प १२६२ नम्बरका चालक रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–८ निवासी २७ वर्षीय हेमराज वली गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ।
त्यस्तै, अर्का चालक भूमे–५ धौलापहिराका २५ वर्षीय कृष्ण खत्री सामान्य घाइते भएका छन्।
दुर्घटनापछि दुवै जनाको रूकुमकोटस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
