राष्ट्रिय सभाको आजको बैठक सुरु भइसकेको छ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित आएको “विनियोजन विधेयक, २०८२” पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
सोही विधेयक अन्तर्गत राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय लगायतका शीर्षकहरूमा उठेका प्रश्नहरूको जवाफ आजै दिइनेछ।
त्यसका साथै, सहरी विकास, सञ्चार, ऊर्जा, भौतिक पूर्वाधार, कृषि, रक्षा, अर्थ, शिक्षा, श्रम, युवा तथा खेलकुद मन्त्रालयका बजेटमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यतालिका पनि तय गरिएको छ।
बैठकमा अर्थमन्त्री पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त “आर्थिक विधेयक, २०८२” र “राष्ट्र ऋण उठाउने विधेयक, २०८२” माथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्नुहुनेछ।
यसैगरी, “भन्सार विधेयक, २०८०” पनि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल र पारित गर्न पेश गरिने कार्यसूचीमा छ।
बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट प्राप्त सन्देशअनुसार “संघीय निजामती सेवा विधेयक, २०८०” सभासमक्ष टेबुल गर्ने कार्यक्रम पनि रहेको छ।

