कैलालीको जानकी गाउँपालिका–९ अमरावतीमा एक वृद्धा महिलाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ८० वर्षीया मातादेवी शाहीको मंगलबार बिहान आफ्नै घरमा हत्या गरिएको अवस्थामा शव फेला परेको हो। डिएसपी राजकुमार सिंहका अनुसार मृतक शाहीको छाती र घाँटीमा धारिलो हतियार प्रयोग गरिएको देखिन्छ। उनी लामो समयदेखि घरमा एक्लै बस्दै आइरहेकी थिइन्।
घटनास्थलको अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन गरिएको भए पनि हालसम्म कुनै ठोस प्रमाण फेला परेको छैन। प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।
शव परीक्षणका लागि शाहीको शव टीकापुर अस्पताल पठाइएको छ। यस घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ भने प्रहरीले हत्यारा पहिचान गर्न सक्रिय अनुसन्धान गरिरहेको जनाएको छ।

