चर्चित गायिका एलिना चौहानले सामाजिक सञ्जालमा भइरहेका चरित्र हत्या, अभद्र टिप्पणी र साइबर दुर्व्यवहारको विषयमा गृहमन्त्री रमेश लेखकसँग भेट गरी तत्काल कानुनी कारबाहीको माग गरेकी छिन्।
यसअघि सोमबार उनले साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी थिइन्। चौहानले लगातार अश्लील, अपमानजनक सन्देशहरू र चरित्र हत्या गर्ने उद्देश्यले गरिएका कमेन्टहरूको सामना गर्दै आएकी बताउँदै आत्म–सम्मानको रक्षा गर्न कानुनी बाटो रोज्नुपरेको स्पष्ट पारेकी हुन्।
गृहमन्त्रीसँगको भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले लेखेकी छिन्, “यो कदम मैले रिस वा घृणाले होइन, आफ्नो अस्तित्व र आत्म–सम्मानको सुरक्षाका लागि उठाएकी हुँ। तपाईंहरूको साथ र सद्भावनाले मलाई अझ अघि बढ्ने हिम्मत दिएको छ।”
एलिनाले पछिल्लो केही समयदेखि फेसबुक, इन्स्टाग्रामलगायत विभिन्न प्लेटफर्महरूमा अज्ञात व्यक्तिहरूद्वारा चरित्रहत्या गर्ने खालका निरन्तर नकारात्मक कमेन्टहरू आइरहेको गुनासो गर्दै आएकी छिन्। उनले आफ्ना पोस्टहरूमा भएका अभद्र टिप्पणी र त्यसमा संलग्न व्यक्तिहरूका प्रोफाइलहरू समेत सार्वजनिक गरेकी छन्।
साइबर ब्यूरोले घटनाको गम्भीरता बुझेको बताउँदै प्रारम्भिक अनुसन्धान सुरु भइसकेको जानकारी दिएको छ। चौहानको यो कदमलाई धेरैले साहसी र प्रेरणादायी भन्दै समर्थन जनाइरहेका छन्।
