नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा प्रस्तुत गरिएको छ।
मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा सभा सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त सो विधेयक सम्बन्धी सन्देश टेबुल गरेका हुन्।
त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीहरूको कार्यविभाजनसम्बन्धी जानकारी पनि सभामा प्रस्तुत गरिएको छ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रीहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरू पढेर सुनाएका थिए।
उनका अनुसार, असार १४ गतेदेखि स्पेन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा दैनिक प्रशासनिक कामको जिम्मेवारी उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ।
त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल थाइल्यान्डको एक कार्यक्रममा सहभागी हुन असार १० गते गएकाले उनको कार्यभार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सम्हाल्ने व्यवस्था गरिएको जानकारी सभामा दिइएको छ।
अन्य कार्यभार सम्बन्धी पत्रहरू पनि अध्यक्ष दाहालले सभामा पढेर सुनाएका थिए।

