१७ असार, काठमाडौं ।
निजामती सेवा सम्बन्धी विधेयकमा ‘कुलिङ पिरियड’को प्रावधान समावेश गर्दा अर्थ बदल्ने गरी शब्द थपिएको भन्ने विषयमा सभामुख देवराज घिमिरेले छानबिन आवश्यक रहेको बताएका छन्।
मंगलबार सिंहदरबारमा आयोजित दलका नेताहरूसँगको छलफलमा सभामुख घिमिरेले उक्त विषयलाई गम्भीर त्रुटिको रूपमा लिँदै सत्यतथ्य पत्ता लगाउनुपर्ने धारणा राखे।
सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार उनले भने, ‘‘यो विषय सामान्य त्रुटि होइन, गम्भीर छानबिनको खाँचो भएको विषय हो। कुन प्रक्रियामा त्रुटि भयो, कहाँबाट भयो भन्ने सबै पाटा खोतलिनेछ।’’
हाल सभामुख घिमिरे संसद सचिवालयका महासचिव र सचिवसहितका पदाधिकारीहरूसँग छलफलमा जुटिरहेका छन्। तर, यस विषयलाई कसरी निष्कर्षमा पुर्याउने भन्नेबारे अन्तिम निर्णय भने भइसकेको छैन।