नेकपा (माओवादी केन्द्र)का वरिष्ठ सांसद जनार्दन शर्माले निजामती सेवा विधेयकमा गरिएको कुलिङ पिरियडसम्बन्धी हेरफेरलाई संसदको स्वायत्तता र सम्मानमाथिको प्रत्यक्ष हस्तक्षेपका रूपमा लिएका छन्।
सभामुख देवराज घिमिरेसँग छलफलपछि बाहिरिँदै शर्माले तीव्र प्रतिक्रिया दिँदै भने, “समितिबाट पारित भएको मस्यौदाभन्दा बाहिर गएर गरिएको हेरफेर सुनियोजित षड्यन्त्र हो। यसले संसदको अपमान भएको छ, हाम्रो सार्वभौम अधिकारमाथि हस्तक्षेप भएको छ। यो अत्यन्त तुच्छ र बदनियतपूर्ण कार्य हो।”
उनका अनुसार समितिका सदस्यहरूले समेत पारित मस्यौदाभन्दा फरक विधेयक टेबुल गरिएको बताएका छन्, जसमा समितिका सभापतिले पनि आफैंलाई जानकारी नभएको बताएका छन्।
शर्माले यो घटनाको गम्भीर छानबिन गरिनुपर्ने आवश्यकता औंल्याउँदै प्रश्न उठाए—”जिम्मेवारी कसले लिने? सचिवले? सभापतिले? कि समितिले नै?” उनले थपे, “यदि कानुनमै यस्तरी हेरफेर हुन्छ भने देशको विधायन प्रक्रिया नै संकटकालमा पर्छ। जनताले कसलाई विश्वास गर्ने?”
उनले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीमार्फत मात्र संसदप्रतिको विश्वास पुनःस्थापना हुनसक्ने बताए। संसद र कानुनी प्रक्रियाप्रति उठेको शंका हटाउन छिटो भन्दा छिटो सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनको जोड छ।
