राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती सेवा सम्बन्धी विधेयकमा देखिएको ‘कुलिङ पिरियड’ सम्वन्धी विवादमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई स्पष्ट जिम्मेवारी लिन आग्रह गरेको छ।
पार्टीका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत सार्वजनिक प्रतिक्रिया दिँदै सभापति खतिवडाको राजीनासमेत माग गरेका छन्। उनले लेखेका छन्, “राज्य व्यवस्था समितिका सभापति ज्यू, तपाईंले संघीय संसदको रोस्टमबाट टेबुल गर्नुभएको विधेयक र हाल प्रस्तुत भएको मस्यौदामा फरक कसरी आयो? या त सुधार गर्नुहोस्, या आफ्नो गल्ती स्वीकार गर्दै पदबाट राजीनामा दिनुहोस्।”
साथै, प्रवक्ता झाले विधेयक नपढी समर्थन वा असहमति जनाउने सांसदहरूप्रति पनि टिप्पणी गरेका छन्। उनले व्यङ्ग्य गर्दै लेखेका छन्, “र, पढ्दै नपढेर ‘हुन्छ’ ‘हुँदैन’ भन्नेहरूलाई ‘कुरी कुरी’।”
रास्वपाले विधेयक प्रक्रियामा देखिएको गम्भीर त्रुटि र त्यसको जिम्मेवारी लिनुपर्ने विषयलाई संसद र समितिमा कडा रूपमा उठाउने संकेत दिएको छ।

