नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कीबासस्थित विनयी खोलामा अस्थायी डाइभर्सन निर्माण भएको छ । यसै डाइभर्सनको विकल्पका रूपमा सञ्चालन हुँदै आएको वैकल्पिक सडक आज बिहानदेखि परेको वर्षाका कारण बाढीले अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार, खोलामा आएको बाढीले होङ्सी गेट–सर्दी–ज्यामिरे हुँदै जाने वैकल्पिक सडकमा पर्ने खरंगे खोलालाई छेकेर यातायात पूर्ण रूपमा अवरुद्ध बनाएको छ ।
ठूला सवारीसाधनहरूलाई विनयी खोलामा निर्माण गरिएको डाइभर्सनमार्फत् वारपार गराइँदै आएको भए पनि, साना तथा यात्रुवाहक सवारीसाधन वैकल्पिक सडकमार्फत् सञ्चालन हुँदै आएका थिए । तर, बाढीले डाइभर्सनलाई समेत क्षति पु¥याएको छ ।
यस अवस्थाले गर्दा सवारीसाधनहरूलाई सुरक्षित स्थानमा रोकिनु परेको छ । विनयी खोलाको पुल भाँचिएपछि डाइभर्सनमा सवारी सञ्चालन हुँदै आएको भए पनि पानी पर्दा डाइभर्सनमा क्षति हुने र सडक अवरुद्ध हुने समस्या प्रायःजसो दोहोरिने गरेको छ ।
हाल भाँचिएको ठाउँमा नयाँ पुल निर्माणको अन्तिम चरणमा छ । पुल निर्माण सकिएपछि डाइभर्सनको समस्या अन्त्य हुने अनुमान गरिएको छ । तर, दाउन्ने खण्डमा निर्माण कार्य नसकिँदा पानी पर्दा सडक चिप्लिने र यातायात अवरुद्ध हुने समस्या भने कायमै रहेको छ ।

