राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सन्तोषी शाहीले कर्णाली प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट र योजना छनोट प्रक्रियामाथि तीव्र आपत्ति जनाएकी छन्।
आइतबारको प्रदेश सभा बैठकमा बोल्दै सांसद शाहीले बजेट निर्माण नेतामुखी, मन्त्रीमुखी र पहुँचका आधारमा भएको आरोप लगाइन्। उनले जनताको चाहना बिर्सेर चुनिएका योजनाहरूमा बिचौलियाको प्रभाव देखिएको बताइन्।
उनको भनाइमा, “सरकारले जनतालाई योजना छनोटका लागि फारम त भरायो, तर त्यो नाटक मात्रै भयो। अन्ततः बजेट त्यहीँ जान्छ जहाँ पहुँचवालाको सिफारिस हुन्छ।”
भौतिक पूर्वाधार मन्त्रालयले विपन्न, दलित र राजी समुदायका लागि आवास निर्माणको प्रतिबद्धता जनाए पनि व्यवहारमा नउतारिएको भन्दै उनले आक्रोश व्यक्त गरिन्। डोल्पा जस्ता दुर्गम जिल्लाहरूको आवश्यकतालाई नजरअन्दाज गरिएको उनले उल्लेख गरिन्।
शाहीले विगतका कमजोरीहरू फेरि दोहोरिएको, योजना किनबेचको प्रवृत्ति अझै कायम रहेको भन्दै मुख्यमन्त्रीसँग जवाफ मागिन्। उनले सरकारलाई गैरजिम्मेवार व्यवहार नदोहोर्याउन चेतावनीसमेत दिइन्।

