आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले संघीय निजामती सेवा विधेयकप्रति गम्भीर असहमति जनाउँदै संसदको रोष्ट्रममै उक्त विधेयकको प्रति च्यातेका छन्।
निजामती सेवा विधेयकले सबै नागरिकलाई समान व्यवहार नगरेको आरोप लगाउँदै उनले गरिब, श्रेणिविहीन र तल्लो तहमा काम गर्ने जनशक्तिको हक अधिकार सुरक्षित नहुने खतरा औंल्याए।
सांसद साहले भने, “अब गरिबले लोकसेवामा सहभागिता जनाउन पाउने छैनन्? ट्वाइलेट सफा गर्ने, ड्राइभर, पिउनको काम गर्नेहरूलाई यो विधेयकले कुनै ग्यारेन्टी दिएको छैन।”
उनले विधेयकले श्रम गर्ने वर्गको संरक्षण गर्नुको साटो उनीहरूलाई विस्थापित गर्ने कार्य गरेको आरोप लगाए। “तिनलाई रुवाउने विधेयक हामीलाई स्वीकार्य छैन,” भन्दै साहले बैठक बहिष्कारको घोषणा गर्दै रोष्ट्रममै विधेयकको प्रति च्यातेर विरोध प्रकट गरेका थिए।
उनले सांसदहरूलाई समेत यस्तो विधेयक पारित नगराउन अपिल गरेका थिए।
