महालेखा परीक्षक तोयम रायले लेखा परीक्षण प्रक्रियालाई आगामी दिनहरूमा अझ प्रभावकारी बनाइने प्रतिबद्धता जनाएका छन्।
आइतबार महालेखा परीक्षक कार्यालयको ६७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै रायले नेपालको संविधानको धारा २४१ बमोजिम लेखा परीक्षणको जिम्मेवारी निर्वाह गर्दै आएको र संघीय संरचना अनुसार प्रदेशस्तरका कार्यालयमार्फत कार्य थप प्रभावकारी ढंगले अघि बढाउने जानकारी दिए।
उनले लेखा परीक्षणका लागि रणनीतिक योजना, सरोकारवाला निकायहरूसँगको समन्वय, अन्तर्राष्ट्रिय अभ्यास, नीति तथा वार्षिक कार्यतालिका तयार गरेर लेखा परीक्षण गर्ने गरिएको बताए। रायका अनुसार कार्यालयको काम समकक्षी मुलुकका सर्वोच्च लेखापरीक्षण संस्थाले पनि पुनरवलोकन गर्दै आएका छन्। भारतको महालेखा परीक्षक कार्यालयले सन् २०१४ मा र थाइल्याण्डको लेखा संस्थाले सन् २०२१ मा मूल्यांकन गरेका थिए।
रायले २०५९ देखि २०८१ सम्म २३ ओटा वार्षिक प्रतिवेदनमा सार्वजनिक सेवा र वित्तीय अनुशासन सुधार गर्न गरिएको सिफारिसलाई समेटेर संग्रह प्रकाशन गरिएको बताए। उनले हालै २०८२ वैशाख ३१ गते राष्ट्रपति समक्ष बुझाइएको ६२औँ वार्षिक प्रतिवेदनमा ५ हजार ७ सय ५९ निकायको ९४ खर्ब ६२ अर्ब ३६ करोड रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको र त्यसमा ९१ अर्ब ५९ करोड ८९ लाख रुपैयाँ बेरुजु फेला परेको जानकारी दिए।
उनका अनुसार आर्थिक वर्षभर ११ वटा कार्यमूलक, १ वातावरणीय, १ सूचना प्रविधि र २ वटा विशेष लेखा परीक्षण पनि सम्पन्न गरिएका छन्। प्रतिवेदन अवधिमा २८ अर्ब २९ करोड ४० लाख बराबरको सम्परीक्षण गरिएकोमा १४ अर्ब ४८ करोड रुपैयाँ असुल गर्न सफल भएको उल्लेख गर्दै उनले हालसम्म जम्मा ३८ अर्ब ३१ करोड बराबरको सम्परीक्षण भइसकेको जानकारी दिए।
