राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले पूर्वमन्त्री तथा सांसद आफताब आलमको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गर्न आग्रह गर्दै महान्यायाधिवक्ताको कार्यालयलाई औपचारिक पत्र पठाएकी छन्।
श्रेष्ठले आइतबार लेखेको पत्रमा उच्च अदालत जनकपुरको वीरगन्ज इजलासद्वारा जेठ १४ गते आलमसहित चार जनालाई सफाइ दिइएको फैसलाले न्यायमा गम्भीर प्रश्न उठाएको भन्दै त्यसविरुद्ध पुनरावेदन गर्न ध्यानाकर्षण गराएकी हुन्।
उनले पत्रमा उल्लेख गरेअनुसार राजनीतिक संलग्नता भएको अपराध भएकाले मुद्दा लामो समयसम्म अघि नबढेको र सर्वोच्च अदालतको आदेशपछि मात्रै मुद्दा दर्ता भएको थियो। तर उच्च अदालतको पछिल्लो फैसलाले दोषीलाई उन्मुक्ति दिएको भन्दै उनले उक्त निर्णयमाथि सर्वोच्चमा पुनरावलोकन गर्नुपर्ने माग गरेकी हुन्।
श्रेष्ठले उच्च अदालतको निर्णयले पीडित परिवार र आम नागरिकमा आक्रोश सिर्जना गरेको जनाएकी छन्।
२०६४ सालको संविधानसभा निर्वाचनको बेला आलममाथि बम विस्फोट गराई घाइते भएका त्रिलोकप्रताप सिंह (पिन्टु) र ओसी अख्तरलाई इँट्टाभट्टामा जिउँदै जलाएको आरोप थियो। यस घटनाबारे मृतक र घाइतेका परिवारले आलमविरुद्ध जाहेरी दिएका थिए।
यसअघि जिल्ला अदालत रौतहटले आलमसहित चार जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। तर उच्च अदालत जनकपुरले विस्फोट भएको पुष्टिकरण नदेखिएको भन्दै उनीहरूलाई सफाइ दिएको थियो।
श्रेष्ठले यस्तो गम्भीर मुद्दामा फैसलाको पुनरावलोकन आवश्यक रहेको भन्दै न्यायिक प्रक्रियामा चित्तबुझ्दो उपस्थिति जनाउन राज्यलाई आग्रह गरेकी हुन्।
