सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित श्रीकान्त पौडेलले न्यायिक प्रक्रियालाई छरितो, पारदर्शी र पूर्वानुमानयोग्य बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्।
आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले इजलासको बहस समय व्यवस्थापनलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने बताए। साथै, बार र बेन्चबीच समन्वय कायम गर्दै न्यायपालिकालाई थप प्रभावकारी बनाउन काम गर्ने उनको भनाइ थियो।
पौडेलले मुद्दा व्यवस्थापन प्रणालीलाई वैज्ञानिक र व्यावसायिक बनाउन आवश्यक परिमार्जन आवश्यक रहेको उल्लेख गरे। अनलाइन मुद्दा दर्ता प्रणाली र सूचना प्रविधिको प्रयोगमार्फत न्यायालयको सेवा प्रवाह सुधार्ने दिशामा आफूले ध्यान दिने स्पष्ट पारे।
उनले विशेष प्रकृतिका मुद्दाहरूको समयमै फर्छ्यौट र न्यायिक सुशासन कायम गर्न आफू सधैं सक्रिय रहने प्रतिबद्धता जनाए।

