नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले मुलुकमा शक्ति पृथकीकरणको सिद्धान्त कमजोर हुँदै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा बोल्दै घिमिरेले अब एक अंगले अर्को अंगको कार्यक्षेत्रमा हस्तक्षेप गर्न थालेको टिप्पणी गरे। उनले न्यायालयले संसद र कार्यपालिकाको क्षेत्रभित्र समेत प्रवेश गर्न थालेको उल्लेख गरे।
न्यायपालिकाको काम कारबाही अत्यन्त ढिलो हुने गरेको उल्लेख गर्दै उनले एक फैसला आउन २० वर्षसम्म कुर्नुपर्ने अवस्था रहेको बताए। यसरी ढिलो न्याय पाउने अवस्थाले नागरिकमा निराशा बढ्ने उनले प्रस्ट पारे।
प्रमुख सचेतक घिमिरेले संसदभित्र व्यक्त गरिएका विचारहरूका आधारमा मुद्दा हाल्न नपाइने संवैधानिक व्यवस्था भए पनि, हालको अवस्थाले त्यसमा समेत हस्तक्षेप हुनसक्ने खतरा देखिएको बताए।
उनको भनाइमा, शक्तिको सन्तुलन र स्वतन्त्रतामाथि प्रश्न उठ्ने गरी अंगहरू एक–अर्काको अधिकार क्षेत्रमा प्रवेश गर्न थालेका छन्, जुन लोकतन्त्रका लागि चिन्ताजनक हो।

