पूर्वप्रधानमन्त्री तथा नेसनल सोशलिस्ट पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा सञ्चालन गरिएको हस्ताक्षर अभियानमा एकजुटता देखाएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आयोजना गरिएको हस्ताक्षर अभियानमा उपस्थित भई डा. भट्टराईले आफ्नो हस्ताक्षरबाट रास्वपाको आन्दोलनमा समर्थन व्यक्त गरेका हुन् ।
रास्वपाले गत असार ७ गतेदेखि नेता लामिछानेमाथि राजनीतिक प्रतिशोध भइरहेको भन्दै हस्ताक्षर अभियान सञ्चालन गर्दै आएको छ । रास्वपा सहकोषाध्यक्ष दिपक बोहोराले डा. भट्टराईको यो समर्थनको जानकारी गराएका छन् ।
यसअघि गत मंसिर २१ गते पनि डा. भट्टराई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर लामिछानेलाई भेटेका थिए । त्यतिबेला उनले राज्यबाट रवि लामिछानेमाथि अस्वभाविक र अन्यायपूर्ण व्यवहार भइरहेको उल्लेख गर्दै रास्वपाको आन्दोलनमा पूर्ण समर्थन जनाएका थिए ।

