माध्यमिक शिक्षा परीक्षा (एसईई) अब प्रदेश तहबाट सञ्चालन गरिने भएको छ । संसद्को शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट सो सम्बन्धी प्रस्ताव पारित भएको हो ।
विद्यालय शिक्षा विधेयकमा छलफलका क्रममा शिक्षा उपसमितिले प्रारम्भिक प्रतिवेदनमा एसईई हटाउने प्रस्ताव गरेको थियो । तर शिक्षा मन्त्रालयले परीक्षा कायम राख्नुपर्ने भन्दै समितिमा नयाँ प्रस्ताव पेस गरेको थियो ।
सोही प्रस्तावमा समिति सदस्यहरूले आ–आफ्नो धारणा राखेपछि कक्षा १० मा लिइने एसईई परीक्षा प्रदेश तहबाट सञ्चालन गर्नेगरी सहमति जुटेको हो । समितिका सभापति अम्मरबहादुर थापाले उक्त प्रस्ताव अघि सारेका थिए, जसलाई अधिकांश सदस्यहरूले समर्थन गरेका थिए ।
परीक्षा सञ्चालन गर्दा प्रदेशले राष्ट्रिय परीक्षा बोर्डसँग समन्वय गर्नुपर्ने व्यवस्था प्रस्तावमा उल्लेख छ । साथै, प्रदेशस्तरको कानुन बनेपछि सोही अनुसार सञ्चालन हुने र कानुन नबन्दा संघीय कानुनको आधारमा परीक्षा लिने व्यवस्था गरिएको छ ।
शिक्षामन्त्री रघुजी पन्तले उक्त प्रस्ताव संविधान विपरीत नरहेको र यसले शिक्षाको गुणस्तर सुधारमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
