मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनीमा शनिबार बिहान भएको धारिलो हतियार प्रहारबाट एक व्यक्तिको ज्यान गएको छ ।
घटनामा ५७ वर्षीय रामबहादुर वाइबाको मृत्यु भएको हो । उनको हत्या गरेको आरोपमा निजगढ नगरपालिका–३, सिंगोल निवासी ३५ वर्षीय कुमार थापा पक्राउ परेका छन् । थापा बेतिनीस्थित एक स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रूपमा कार्यरत थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार थापाले खुर्पा प्रहार गरी वाइबाको घाँटीमा गम्भीर चोट पुर्याएका थिए ।
थापाले वरिपरिका अन्य व्यक्तिहरूलाई समेत क्षति पुर्याउने चेतावनी दिँदै धम्की दिएको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
गम्भीर घाइते अवस्थामा रहेका वाइबालाई उद्धार गरी उपचारका लागि लगिएको भए पनि बिहान ७:४५ बजे बेतिनी स्वास्थ्य चौकीका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

