नेकपा (एकीकृत समाजवादी)का सचिवालय सदस्यहरूले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा उठाइएको मुद्दालाई प्रतिशोधको रुपमा व्याख्या गरेका छन् ।
शनिबार काठमाडौंमा बसेको सचिवालय बैठकको दोस्रो दिन सदस्यहरूले धारणा राख्दै उक्त मुद्दा बदनियतपूर्वक ल्याइएको दाबी गरेका हुन् । उनीहरूका अनुसार अध्यक्ष नेपालमाथि लागेको मुद्दा राजनीतिक प्रतिशोधबाट प्रेरित छ, र त्यसका आधारमा अध्यक्ष पदबाट हट्नुपर्ने कुनै कारण छैन ।
बैठकमा धारणा राख्ने सदस्यहरूले अध्यक्ष नेपालले जिम्मेवारी यथावत् राखेर नेतृत्व गर्नुपर्नेमा जोड दिएका छन् ।
सचिवालय बैठकमा अध्यक्षविरुद्धको मुद्दासहित सांगठानिक कार्य तथा अन्य सात एजेन्डामाथि छलफल भइरहेको बताउँदै सचिवालय सदस्य सोमप्रसाद पाण्डेले आइतबार पुनः बैठक बस्ने र आवश्यक निर्णयसहित बैठक टुंगोमा पुग्ने जानकारी दिए ।
