झापा — जिल्लामा डेंगु संक्रमण तीव्ररुपमा फैलन थालेपछि बिर्तामोड नगरपालिकाले लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने अभियान सुरु गरेको छ। वैशाखदेखि असार १३ गतेसम्म ६१ जना नयाँ संक्रमित फेला परेपछि संक्रमण नियन्त्रणका लागि नगरले सक्रियता देखाएको हो।
स्वास्थ्य शाखाका अनुसार बिर्तामोडमा मात्रै ५४ जना संक्रमित भेटिएका छन् भने दमकमा १ र गौरादहमा ६ जना संक्रमित पुष्टि भएका छन्। बिर्तामोडमा अन्य जिल्लाबाट उपचारका लागि आउने बिरामीको संख्या पनि उच्च छ।
नगरपालिकाले शनिवारदेखि औपचारिक रूपमा ‘खोज र नष्ट गर’ अभियान आरम्भ गरेको हो। अभियानको शुभारम्भ गर्दै कार्यवाहक नगरप्रमुख नगेन्द्र सङ्ग्रौलाले महामारी फैलिनु अघि नै नियन्त्रणका उपाय अवलम्बन गर्नुपर्ने बताए। उनले सहकारी, बैंक र अन्य संघ–संस्थालाई सामाजिक उत्तरदायित्वअन्तर्गत अभियानमा सहभागी हुन आह्वान गरे।
कार्यक्रममा ग्यारेज, पसलजस्ता सम्भावित जोखिम क्षेत्रहरूमा लार्भा खोजेर नष्ट गरिएको छ। साथै, नगरका १० वटै वडाका आधारभूत स्वास्थ्य केन्द्रहरूलाई ‘पोर्टेबल महामारी किट’ वितरण गरिएको उपप्रमुख सङ्ग्रौलाले जानकारी दिए।
जनस्वास्थ्य निरीक्षक अजय पौडेलले अभिमुखीकरण कार्यक्रममा डेंगुका जोखिम र लक्षणबारे जानकारी दिँदै लामखुट्टेबाट फैलिने रोग समयमा नियन्त्रण नभए महामारीको रूप लिन सक्ने चेतावनी दिए। उनले बिर्तामोडमा पछिल्ला पाँच वर्षमा मलेरिया नदेखिएको तर कालाजार र जापानी इन्सेफ्लाइटिसका एक/एक बिरामी भेटिएको बताए।
प्रमुख प्रशासकीय अधिकृत सागर विष्टले जलवायु परिवर्तनका कारण डेंगु अब हिउँदमा पनि देखिन थालेको उल्लेख गर्दै यसको प्रभावकारी नियन्त्रण आवश्यक भएको बताए।
पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले विद्यालयस्तरबाट अभियान सञ्चालन गरी विद्यार्थी र अभिभावकलाई सचेत गराउनु जरुरी रहेको बताए।
डेंगु के हो?
डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रमण हो। यो लामखुट्टे स–साना सफा पानीमा अण्डा पार्ने गर्छ।
डेंगुको मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु हो, जुन ५–७ दिनसम्म रहन सक्छ। साथै, टाउको, आँखाको गेडी, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा आउने, वाकवाकी, पेट दुख्ने, नाक र गिजाबाट रगत बग्नेजस्ता लक्षण देखिन सक्छन्।
स्वास्थ्यकर्मीहरूले यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गराउन सुझाव दिएका छन्।

