काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद प्रकाश ज्वालाले पूर्व मन्त्री, दलका नेता र व्यापारीहरूको निजी सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई तुरुन्त फिर्ता बोलाउन सरकारसँग माग गरेका छन्।
शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ज्वालाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ठूलो संख्याका सुरक्षाकर्मीहरू ऐन र नियमविपरीत भूतपूर्व पदाधिकारी र विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटाइएको बताए।
“ऐन, कानुन र व्यवस्थाविपरीत सुरक्षाकर्मीको प्रयोग गम्भीर विषय हो,” उनले भने, “यसरी खटाइएका सुरक्षाकर्मीहरूलाई तुरुन्त फिर्ता गरिनुपर्छ।”
उनले गृहमन्त्रीसँग संसद्मा स्पष्ट जानकारी दिन आग्रह गरे — “कस–कसको सुरक्षामा कति सुरक्षाकर्मी परिचालन गरिएको छ भन्ने तथ्य संसदमा पेस गरिनुपर्छ।”
ज्वालाले सुरक्षा संयन्त्र जनताको हितका लागि प्रयोग हुनुपर्ने भन्दै, यसलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्नु राज्य स्रोतको दुरुपयोग भएको बताए।

