काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसाको नाममा नेपाली जनतालाई ठगिएको गम्भीर आरोप लगाएकी छन्।
शनिबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै सांसद कार्कीले गृहमन्त्रीलाई “धेरै फुर्ति नदेखाउन” चेतावनी दिइन्।
उनको भनाइमा, “एक दिन यस्तो समय आउँछ, तपाईं सत्ताबाट प्रतिपक्षमा आउनुहुन्छ। तब जनतालाई के जवाफ दिनुहुन्छ?”
उनले गृहमन्त्रीमाथि भिजिट भिसाको नाममा प्रतिव्यक्ति ५० लाखदेखि एक करोड रुपैयाँसम्म असुली गरेको आरोप लगाउँदै भनिन्, “नेपाली जनतालाई बेचिएको छ, यो क्षमायोग्य अपराध होइन।”
सांसद कार्कीले गृहमन्त्रीप्रति आफ्नो पहिलो बुझाइ फरक रहेको बताउँदै थपिन्, “मैले उहाँलाई सोझो व्यक्ति ठानेको थिएँ, तर उहाँ त निकै चलाख देखिनुभयो।”
उनले मानव तस्करीको छानबिनका लागि बनाइएको समितिलाई पनि प्रश्न गर्दै भनिन्, “उहाँले यस्तो समिति बनाउनुभयो जसले उहाँलाई उम्किन सजिलो बनायो र कमाइ जोगाउन सहज भयो।”
बीपी कोइरालाको भनाइ उद्धृत गर्दै उनले नेताको ज्यादती सहेर बस्नेहरू या त चरम अवसरवादी वा दास हुने टिप्पणी गर्दै, “गृहमन्त्रीज्यू, तपाईं कुन वर्गमा पर्नुहुन्छ?” भन्ने प्रश्नसमेत गरिन्।
सांसद कार्कीले भिजिट भिसा प्रकरणमा गम्भीर छानबिनको माग गर्दै गृहमन्त्रीलाई नैतिक जिम्मेवारी लिन र आवश्यक भए राजीनामा दिनुपर्ने सुझावसमेत दिइन्।
