काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गर्दै प्रतिनिधिसभामा विरोध जनाएको छ।
शनिबारको संसद बैठक सुरु भएलगत्तै राप्रपाका सांसदहरूले उठेर असन्तोष जनाए। सभामुखले समय दिएपछि राप्रपा सांसद रोशन कार्कीले बोल्दै भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई जोगाउन सरकारले गठन गरेको छानबिन समिति नै शंकास्पद रहेको आरोप लगाइन्।
“गृहमन्त्रीज्यू, नेपाली जनतालाई मानव तस्करीको जालोमा पारेर लुटिन दिइएको छ। तपाईंलाई यसको जवाफ दिन सक्नुपर्छ,” उनले भनिन्।
सांसद कार्कीले गृहमन्त्रीबाट नैतिकताको खोजी भएको बताउँदै बीपी कोइरालाको भनाइ उद्धृत गर्दै प्रश्न गरिन्, “तपाईं कार्यकर्ताको ज्यादती सहेर बस्ने अवसरवादी वर्गमा पर्नुहुन्छ कि दास वर्गमा?”
गृहमन्त्रीप्रति आफ्नो विश्वाससमेत टुटेको उनले स्पष्ट पारिन्। “पहिला अलि सोझो देखिएका मन्त्रीज्यू अहिले त निकै चलाख देखिनुभएको छ,” उनले भनिन्।
भिजिट भिसा प्रकरणमा सरकारले बनाएको छानबिन समितिलाई लिएर उनले कडा टिप्पणी गरिन्, “उहाँले यस्तो समिति बनाउनुभयो, जसले उहाँलाई सहज बनायो— न त गहिरो अनुसन्धान, न त स्पष्टता। बरु कमाइ बचाउन सजिलो बन्यो।”
कार्कीले गृहमन्त्रीले आफ्नो बचाउको लागि मात्र समिति बनाएको र त्यसमा सरकारले साथ दिएको बताउँदै प्रश्न गरिन्, “एकदिन तपाईं पनि विपक्षमा पुग्नुभयो भने जनतालाई के जवाफ दिनुहुन्छ?”
भिजिट भिसाका नाममा विदेश जान खोज्नेहरूसँग ठूलो रकम असुलिएको आरोप लगाउँदै उनले भनिन्, “५० लाखदेखि एक करोडसम्म असुली गरेर नेपालीलाई मानव तस्करी गर्नु कत्तिको नैतिक हो?”
उनको भनाइमा, गृहमन्त्रीले बनाएको छानबिन समिति निष्पक्ष देखिँदैन। “दूधको साक्षी बिरालो झैँ छ यो समिति,” भन्दै उनले व्यंग्य गरिन्, “तर यो अवस्था धेरै दिन टिक्दैन, तपाईं एक दिन जनताको कठघरामा उभिनुहुनेछ।”
राजीनामाको माग दोहोर्याउँदै उनले भनिन्, “यदि तपाईंमा थोरै पनि नैतिकता बाँकी छ भने पद छोड्नुस् र निष्पक्ष छानबिनमा सघाउनुहोस्।”

