काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसाको आवरणमा भइरहेको भनिएको मानव तस्करी प्रकरणको विरोधमा शनिबार पनि प्रतिनिधिसभा बैठकमा प्रदर्शन जारी राख्यो। पार्टीले घटनाको उच्चस्तरीय न्यायिक छानबिन हुनुपर्ने माग दोहोर्याएको छ।
रास्वपाका सांसद गणेश पराजुलीले संसदमा धारणा राख्दै सरकारले जाँचबुझ समितिको नाममा मानव तस्करीमा संलग्नहरूलाई जोगाउने प्रयास गरिरहेको आरोप लगाए।
उनले भने, “नक्कली भुटानी शरणार्थी प्रकरणपछि अहिले भिजिट भिसाको नाममा जनतालाई मानव तस्करीको जालोमा पारेर बेच्ने काम भइरहेका छन्। त्यस्ता दलालहरूलाई संरक्षण गर्न सरकारका शीर्ष तहसम्मको संलग्नता रहेको देखिन्छ।”
सांसद पराजुलीले यो केवल कानुनी अपराध मात्र नभई, देशको प्रतिष्ठामाथिको आक्रमण भएको दाबी गरे।
“आज हाम्रो देश मानव तस्करीको ट्रान्जिट हबको रूपमा चिनिन थालेको छ,” उनले भने, “हजारौँ नेपाली चेलीहरू विदेशमा बेचिएर शोषणमा परेका खबरहरू अन्तर्राष्ट्रिय स्तरमा सार्वजनिक भइरहँदा राज्य भने बेखबरझैँ बसेको छ।”
रास्वपाले आफ्नो आन्दोलन भिजिट भिसा होइन, त्यसको नाममा भइरहेको मानव तस्करीविरुद्ध भएको प्रस्ट पार्दै तीनवटा प्रश्न गृहमन्त्री रमेश लेखकसमक्ष राखेको छ।
पराजुलीले प्रश्न गर्दै भने,
– अख्तियारले जेठ ७ गते कारबाही गर्दा अध्यागमन विभाग प्रमुखलाई जोगाउने र अनुसन्धान गरिरहेका डीआईजीको सरुवा गर्नुभएको व्यवहार शंकास्पद होइन?
– गृहमन्त्रीकै सचिवालयका सदस्यहरू यो घटनामा जोडिएको विवरण बाहिर आउँदा राजनीतिक संरक्षणको आशंका गर्नु अनुचित हो?
– मानव तस्करी अनुसन्धानको नाममा ९ बुँदे कार्यादेशमार्फत समिति बनाउनु सरकारलाई जोगाउने उपाय मात्र हो कि?
रास्वपाले न्यायिक तहबाट छानबिन हुने गरी स्वतन्त्र, निष्पक्ष र विश्वसनीय समिति गठनको आवश्यकता दोहोर्याउँदै संसदमा आन्दोलन जारी राख्ने जनाएको छ।
