काठमाडौं — संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका तीन जनामाथि परेको उजुरीका विषयमा उजुरीकर्ताहरूसँग छलफल गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा न्यायाधीशका रूपमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाविरुद्ध उजुरी दर्ता गराएका व्यक्तिहरूसँग प्रत्यक्ष संवाद गरिएको हो।
बैठकमा उजुरीकर्ता मनोजकुमार क्षेत्रीले मेघराज पोखरेलले सार्वजनिक बाटो मास्ने उद्देश्यले किर्ते कागजात तयार पारेको आरोप लगाए। उनले पोखरेलको प्रभावका कारण अदालतमा उक्त कागजातलाई किर्ते नरहेको ठहर गराइएको दाबी पनि गरे।
त्यस्तै, न्यायाधीश शान्तिसिंह थापाविरुद्ध उजुरी दिने आरती रावलले थापाले सत्ता र शक्तिको प्रयोग गरेर आफूलाई २५ दिन हिरासतमा राखेको बताइन्। उनले न्यायिक प्रक्रियाको दुरुपयोग गरिएको आरोप लगाइन्।
श्रीकान्त पौडेल र मेघराज पोखरेलविरुद्ध दुई/दुई वटा तथा शान्तिसिंह थापाविरुद्ध एउटा उजुरी परेको समितिले जानकारी दिएको छ।
छलफलपछि संसदीय समितिले आगामी आइतबार न्यायाधीशका लागि सिफारिस गरिएका उम्मेदवारहरूसँग संसदीय सुनुवाइ गर्ने निर्णय गरेको छ।
