काठमाडौं — नेपाली कांग्रेसले ललितपुर सानेपास्थित आफ्नो केन्द्रीय कार्यालय विस्तार गर्ने निर्णय गरेको छ। पार्टीले कार्यालयको अगाडि रहेको एक रोपनी तीन आना तीन पैसा जग्गासहित तीन तले घर १३ करोड रुपैयाँमा खरिद गर्न सम्झौता गरेको हो।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार ललितपुरका अमिरमान अमात्यसँग उक्त सम्पत्तिको किनमेलका लागि १ वर्षभित्र पास गर्ने सर्तमा सम्झौता भएको हो। त्यसअनुसार बैनास्वरूप ५० लाख रुपैयाँ अग्रिम भुक्तानी भइसकेको पौडेलले जानकारी दिएका छन्।
सम्झौताका क्रममा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, साथै कोषाध्यक्ष उमेश श्रेष्ठ पनि सहभागी थिए।
मुख्यसचिव पौडेलका अनुसार १३ करोड रुपैयाँ पार्टीका विभिन्न तहको लेभी तथा शुभेच्छुकको सहयोगबाट संकलन गरिनेछ। पार्टीले कार्यालय विस्तारसँगै संस्थागत विकासलाई थप मजबुत बनाउने जनाएको छ।
