नुवाकोटको ककनीमा खोलामा आएको बाढीले बगाएर बेपत्ता भएकी महिलाको खोजीका लागि तालिमप्राप्त कुकुरसहितको उद्धार टोली खटाइएको छ।
ककनी गाउँपालिका–१ कागतीगाउँको भसीबु क्षेत्रबाट ३२ वर्षीया कमला बलामी खोलाले बगाएर बेपत्ता भएपछि सशस्त्र प्रहरीले खोजी र उद्धारको कार्य तीव्र बनाएको हो। शुक्रबार बिहानै आएको बाढीले बलामीको घरमा प्रवेश गर्दा उनी बगिएकी थिइन् भने उनका श्रीमान अशोक बलामी घाइते भएका छन्। उनलाई तत्काल काठमाडौं पठाइएको छ।
घटनास्थलमा सशस्त्र प्रहरी बल नेपालका ६५ जना सुरक्षाकर्मी खटिएका छन्। उनीहरू सशस्त्र प्रहरी बलको यूएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र बञ्चरेडाँडा सुरक्षा बेसबाट खटिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
खोजीलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी सहायक निरीक्षक राजन सुवेदीको नेतृत्वमा ७ जनाको टोलीसहित दुईवटा ‘सर्च एन्ड रेस्क्यु’ तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ।
बाढीले स्थानीय तीनवटा गोठ बगाउँदा केही पशु चौपाय समेत बगाएको र अन्य क्षतिको विवरण संकलन कार्य भइरहेको प्रहरीले जनाएको छ।