काठमाडौँ — सरकारले वातावरण संरक्षण र जलवायु संकटको समाधानतर्फ एक ऐतिहासिक कदम चाल्दै २० वर्षे ‘सगरमाथा वृक्षरोपण महाअभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ।
वन तथा वातावरण मन्त्रालयका अनुसार सन् २०२५ देखि २०४५ सम्म प्रत्येक वर्ष असार १४ देखि साउन १५ सम्म वृक्षरोपण महाअभियान सञ्चालन हुनेछ। हालै सम्पन्न ‘सगरमाथा संवाद २०२५’ मा विश्व समुदायको ध्यान हिमालय क्षेत्रको जलवायु संकटतर्फ तान्दै “हिमालय जोगाऔँ” भन्ने सन्देश दिइएको थियो। यही सन्देशलाई मूर्त रूप दिन वृक्षरोपण अभियान अगाडि बढाइएको हो।
सरकारको भनाइअनुसार यो अभियानले कार्बन उत्सर्जन घटाउने, हिमालय र जैविक विविधताको संरक्षण गर्ने, वातावरण पुनःस्थापना गर्ने, र भावी पुस्ताका लागि सुरक्षित तथा समृद्ध वातावरण निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
अभियानलाई व्यापक बनाउँदै सरकारले यसलाई राष्ट्रिय पर्वको रूपमा मनाउने तयारीसमेत गरेको छ। संघ, प्रदेश, र स्थानीय सरकारसँगै अन्य निकाय र सर्वसाधारणलाई पनि वृक्षरोपणमा सक्रिय सहभागिता जनाउन आह्वान गरिएको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा उल्लेख भएअनुसार, सामुदायिक वन, राजमार्ग तथा खोला किनार, विद्यालय, कार्यालय प्राङ्गण, सार्वजनिक र निजी जग्गामा फलफूल, जडीबुटी तथा बहुमूल्य वनस्पतिको वृक्षरोपण गर्न जनतालाई प्रेरित गरिनेछ।
मन्त्रालयले वृक्षरोपणलाई आफ्ना पूर्वजहरूको सम्झना र भावी सन्ततिको सुरक्षित भविष्यका लागि सकारात्मक अभ्यासको रूपमा लिन सकिने बताएको छ।
यो अभियान जलवायु संकटप्रति नेपाल सरकारको गम्भीर प्रतिबद्धता र दीर्घकालीन समाधानतर्फको एक उदाहरणीय प्रयास मानिएको छ।

