कोशी प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारले प्रस्तुत गरेको बजेटलाई असन्तुलित र मनपरीपूर्ण भन्दै गम्भीर आपत्ति जनाएका छन्।
शुक्रबार बसेको प्रदेश सभाको बैठकमा विशेष समय लिएर बोल्दै नेता आङ्बोले बजेट निर्माणको तरिका र मन्त्रीहरूको सदनमा प्रस्तुत धारणा दुबैप्रति आलोचना गरे। पूर्वआर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका उनले सरकारले संसदीय मर्यादा र प्रक्रिया अवमूल्यन गरेको आरोप लगाए। “संसद प्रतिपक्षको आवाज उठाउने थलो हो, तर यहाँ त त्यसलाई दवाउन खोजिएको छ,” आङ्बोले भने, “मन्त्रीहरूले जवाफ दिने सट्टा सदनलाई नै हप्काउने शैली अपनाइएको छ।”
उनले बजेट विनियोजनमा गम्भीर असन्तुलन देखिएको दाबी गर्दै केही जिल्लामा अर्बौं रुपैयाँको बजेट केन्द्रीत गरिएको तर पाँचथरजस्तो जिल्लामा जम्मा ३६ करोड मात्र विनियोजन गरिएको उल्लेख गरे। “स्रोतको दोहन र मनोमानी वितरण गरिएको छ,” उनले थपे।
नेता आङ्बोले आफ्नो कार्यकालमा प्रदेशका सबै निर्वाचन क्षेत्रमा सन्तुलित विकास सुनिश्चित गर्न बहुवर्षे आयोजनाहरू प्रस्तुत गरिएको स्मरण गर्दै वर्तमान सरकारले विगतको कामलाई दोष दिएर जिम्मेवारीबाट पन्छिन खोजेको बताए।
सरकारलाई जिम्मेवार र जवाफदेही हुन आग्रह गर्दै उनले असन्तुलन नहटाइए सदन र सडक दुवैबाट आवाज उठाइरहने चेतावनी दिए। “राम्रो कामको प्रशंसा गर्न तयार छौँ, तर बजेट एकातर्फ केन्द्रित गर्ने प्रवृत्ति हामीलाई स्वीकार्य छैन,” उनले स्पष्ट पारे।

