राजस्व अनुसन्धान विभागले पछिल्लो ११ महिनाको अवधिमा १६० जना प्रतिवादीविरुद्ध ४८ वटा मुद्दा दायर गरेको छ। विभागका महानिर्देशक चण्डी प्रसाद घिमिरेले एक प्रेस विज्ञप्ति जारी गर्दै राजस्व चोरी नियन्त्रणको सिलसिलामा ती अभियोगपत्रहरू उच्च अदालतमा दर्ता गरिएको जानकारी दिएका हुन्।
महानिर्देशकका अनुसार, चालू आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म विभागले करिब ५ अर्ब १९ करोड रुपैयाँ बराबरको मागदाबी गर्दै मुद्दा अघि बढाएको हो। यसमध्ये २ अर्ब ५९ करोड रुपैयाँ विगो र सोही अनुपातको जरिवाना समावेश छ।
विभागले भन्सार छली, ट्रान्सपोर्टमार्फत गरिने ढुवानीमा अनियमितता, मूल्याङ्कन र वर्गीकरणमा देखिएको गडबडीका आधारमा आकस्मिक निरीक्षण गरी १ अर्ब १६ करोड रुपैयाँ धरौटीको माग गरेको छ। यसमध्ये ५५ करोड १८ लाख रुपैयाँ आन्तरिक राजस्व तथा भन्सार विभागमा असुल गर्न पठाइएको छ।
त्यस्तै, विदेशी विनिमय अपचलनसम्बन्धी अनुसन्धानका क्रममा विभागले १६१ जना प्रतिवादीविरुद्ध ११७ वटा मुद्दा दर्ता गरेको छ, जसमा ५ अर्ब रुपैयाँभन्दा बढीको मागदाबी गरिएको छ।
विभागले अनुसन्धान प्रक्रिया वस्तुनिष्ठ र प्रमाणमा आधारित रूपमा अघि बढाइएको दाबी गर्दै तथ्यगत स्क्रिनिङको आधारमा मात्रै कारबाही अगाडि बढाएको जनाएको छ।
