श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले दक्षिण कोरियाको सीप, प्रविधि र अनुभवलाई नेपालले अनुकरण गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
बिहीबार ललितपुरमा आयोजित ‘हामी एप’ सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले छोटो समयमै कोरियाले उल्लेखनीय प्रगति गरेको र त्यसमा नेपाली श्रमिकहरूको योगदान पनि महत्त्वपूर्ण रहेको बताए।
उनका अनुसार कोरिया मात्र होइन, अन्य धेरै मुलुकमा पनि नेपाली श्रमिकहरू काम गरिरहेका छन्, जसले ती देशको आर्थिक वृद्धिमा उल्लेखनीय भूमिका खेलेका छन्। यस्तो योगदानको कदर सम्बन्धित मुलुकहरूले गर्नुपर्ने उनको धारणा छ।
मन्त्री भण्डारीले विदेशमा काम गरेर फर्किएका नेपालीहरूले त्यहाँ हासिल गरेको सीप, अनुभव र पुँजीलाई नेपालको समृद्धिमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, विदेशमा रहेका नेपाली श्रमिकहरूलाई पनि त्यही देशका नागरिक सरह सेवा र सुविधाको सुनिश्चितता हुनु पर्नेमा उनले जोड दिए।

